२५ जेठ, काठमाडौं ।
भारतको राजधानीस्थित नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी वितरण सुरू गरेको छ । अन्य विभिन्न मुलुकमा रहेका नियोगबाट विद्युतीय राहदानी वितरण सुरू गरिसकेको अवस्थामा दिल्लीस्थित नेपाली दूतावासले पनि यो सेवा सुरू गरेको हो ।दूतावासले सूचनामार्फत सेवा सुरू गरेको जानकारी दिँदै भौतिक रूपमा उपस्थित भएर तथा अनलाइन फारम भरेर विद्युतीय राहदानी लिन सकिने जनाएको छ ।पुरानो राहदानी बाहक नेपाली नागरिकले नयाँ राहदानी बनाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित राजदूतावासमा उपस्थित भएर वा ईमेल तथा ह्वाट्सएप नम्बरमा निवेदन दिनुपर्ने छ ।त्यसपछि दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र परिचयपत्रको आधिकारिकता बुझेर सूचित गरेपछि आवेदकले अनलाइनबाट फारम भर्नुपर्ने दूतावासले जानकारी दिएको छ । त्यसपछि आवेदकले तोकिएको मिति र समयमा दूतावासमा उपस्थित भएर प्रत्यक्ष फोटो तथा बायोमेट्रिक डाटा दिनुपर्ने छ ।दूतावासले नयाँ राहदानीका लागि भारतीय रुपैयाँ पाँच हजार ९८० र दश वर्षभन्दा कम उमेरका नाबालकको नयाँ राहदानी लिनका लागि दुई हजार ९९० शुल्क लाग्ने छ । राहदानी हराएको वा क्षति भएर नयाँ लिनु परेको खण्डमा भने दोब्बर शूल्क लाग्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।दूतावासले हालको मेसिन रिडेबल पासपोर्टको म्याद भएसम्म विद्युतीय राहदानी बनाउन आवश्यक नरहेको र हराएको वा क्षति भएको अवस्थामा बाहेक एक वर्षभन्दा बढी म्याद भएको एमआरपीको सट्टामा नयाँ राहदानी बनाउने नपाइने समेत जानकारी दिएको छ ।
Discussion about this post