चितवन । चितवनका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेंगु र २८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ ।
गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमितमध्ये चितवनका मात्रै १४९ र बाहिरी जिल्लाका ९४ जना छन् । डेंगुका सबै बिरामीको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा डेंगुको संक्रमण दर गत वर्षभन्दा यस वर्ष कम छ । गत आर्थिक वर्षमा चार हजार ८०३ जनामा डेंगु संक्रमण देखिएको थियो । तीमध्ये तीनजनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष डेंगु र स्क्रब टाइफस दुवैको जोखिम नरहेको जानकारी दिए ।
उनका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यस वर्ष कम संक्रमित भेटिएका हुन् । ‘लकडाउन’का समयमा चार÷पाँच महिना मानिस घरभित्रै बसेकाले पनि यसको संक्रमण दर बढ्न नपाएको उनले बताए ।
डेंगुले हरेक तीन÷तीन वर्षमा महामारीको रुप लिने बताइएको छ । जिल्लामा गत वर्ष नै डेंगुले महामारीको रुप लिएकाले यस वर्ष संक्रमण दर कम भएको कार्यालय प्रमुख तिवारीको भनाइ छ ।
डेंगु नियन्त्रणका लागि स्थानीय तहले पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
यसैगरी, हालसम्म जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये २८६ जनामा स्क्रब टाइफस संक्रमण भेटिएको छ । तीमध्ये चितवनका मात्रै १४९ तथा जिल्लाबाहिरका १३७ जना छन् । स्क्रब टाइफसको पनि जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत आवमा १२७ जनामा संक्रमण देखिएको तथा दुईजनाको मृत्यु भएको थियो । यस वर्ष एकजनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिइन् ।
मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ । खेतबारीमा एवं विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा सो रोग लाग्ने उनले जानकारी दिइन् । रोग गर्मी र वर्षाका समयमा देखिन्छ ।
किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र सो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेका ठाउँमा घाउ हुने, कमलपित्त हुने र पेट दुख्ने लक्षण देखिने कार्यालयले जनाएको छ ।