
कैलाश दास
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २३ का दलित समुदायहरु निक्कै उत्साहित भएका छन् । किन भने करीब दुई वर्ष पश्चात् दुइ कोठे पक्की भवनमा आजदेखि उनीहरु बस्न पाइएका छन् ।
जनता आवास कार्यक्रम अन्तरगत ती दुईवटा वडामा १२४ वटा घर निर्माण भएको र ती घरहरुलाई प्रदेश २ का भौतिक पूर्वाधार तथा योजना मन्त्री जितेन्द्र सोनल र जनता आवासका धनुषा संयोजक परमेश्वर साहले संयुक्त रुपमा दलितहरुलाई घर हस्तान्तरण गरेका हुन ।
आज हामीहरु निक्कै उत्साहित भएका छौं । हामीहरु झोपरपट्टीमा बस्दै आएका थिए । आफ्नो कमाईबाट घर निर्माण गर्न सकिने कल्पना पनि गर्न सक्ने थिएन । तर यस्तो अवस्थामा प्रदेश सरकारले समयमा घर बनाई दिएकोमा हामी निक्कै उत्साहित छौं र प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छौं, दलित समुदायहरु भन्छन् ।

जनता आवास कार्यक्रम अन्तरगत पहिलो चरणमा दलित मध्ये महादलित रहेका डोम, हलखोर, मुसहर र मेस्तर समुदायको घर निर्माण भई रहेको छ । यस वर्ष धनुषामा २ सय ३१ वटा घर निर्माण भई सक्नुपर्नेमा अहिलेसम्म १ सय २१ वटा घर निर्माण भएको र केही निर्माणको क्रममा रहेको शहरी डिभिजन कार्यालयका डि.ई. विनोद यादव बताउँछन् ।
यता भौतिक पूर्वाधार तथा योजना मन्त्री जितेन्द्र सोनलले नवनिर्मित कोठाका अनुमगन गर्दै संघको बजेटको योजना भन्दा पनि राम्रो र स्तरीय कार्य भएको दावी गरेका छन् । उनले प्रदेश सरकारले निर्वाचनको बेलामा गरेको प्रतिबद्धता अनुसार कार्य गरिरहेको जिकिर समेत गरेका छन् ।
संघ सरकारको इष्टिमेट अनुसार दुई नम्वर इटाको प्रयोग, झ्याल र कोठामुनि बाँस राख्ने सम्झौता छ । तर प्रदेश सरकारले एक नम्वर इटा, लोहाको पाइप र लोहाकै झ्याल प्रयोग गरेको उनी बताउँछन् ।
उनले भने संघ सरकारले अहिलेसम्म ठग्दै आएको थियो । तर प्रदेश सरकारले योजना अनुसार लक्ष्य पुरा गरिरहेको दावी समेत गरे ।

यता जनता आवास कार्यक्रमका धनुषा संयोजक परमेश्वर साहले प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणलाई तिव्रता दिंदा संघ सरकारले बजेट कटौती गरेको गुनासो गरेका छन् । गत वर्ष जनता आवासका लागि २० करोड रकम दिएको थियो । तर यस आर्थिक वर्षमा सात करोड मात्र दिएको उहाँले बताएका छन् ।