जनकपुरधाम, बैशाख २३ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार रामजानकी साहले आफ्नो प्रतिवद्धता पत्र सार्वजानिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार जानकीराम साहले ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । निर्वाचनको ८ दिन बाँकी रहेको समय साहले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
साहले शिक्षा, स्वास्थ्य, सुरक्षा, सरसफाइ, स्वरोजगार, खेलकुद, संस्कृति र पर्यटन, सुशासन, सेवामुखी नगर, पर्यावरण र हरित क्रान्ति तथा स्वरोजगारलाई आफ्नो प्रतिबद्धता पत्रमा समेटेका हुन् ।
साहले जनकपुरधामको शिक्षामा राम स्वरुप र रामसागरले दिएको योगदानलाई कदर गर्दै गुणस्तरीय शिक्षाका लागि नगरमा रहेको सरस्वती, जानकी, संकटमोचन, ज्ञानकुप, असर्फिसाह जस्ता पुरानो विद्यालयहरुलाई पहिलाकै अवस्थामा पु¥याउन विशेष योजना बनाउने बताए । गरिब तथा विपन्न विद्यार्थीहरुका लागि विशेष छात्रवृतिको व्यवस्था गर्ने उनले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका हुन् ।
यस्तै हरेक घरको स्वास्थ्य सम्बन्धी जानकारी उपमहानगरमा राखने र आवश्यक स्वास्थ्य सेवाको लागि हरेक टोलमा युवा र महिलालाई समावेश गराएर स्वास्थ्य स्वयम सेवक बनाइने प्रतिबद्धता पत्रमा उल्लेख गरेका हुन् ।
जनकपुरधाम पर्यटन व्यवसाय र संस्कृतिको लागि संवेदनशील क्षेत्र रहेकाले सुरक्षा योजना अन्तर्गत नगरको आवश्यक स्थानहरुमा सिसिटिभी क्यामेरा लगाउनका साथै मठ, मन्दिर, मस्जिद तथा धर्मशाला क्षेत्रमा अनिवार्य रूपमा विशेष सुरक्षा योजना ल्याइने उनले बताए ।
साहले सरसफाई यहाँको मुख्य समस्या रहेकाले निर्वाचित भएको ६ महिना भित्र डम्पिङ साइटको व्यवस्था गर्ने तथा नियमित फोहर संकलन तथा व्यवस्थापन, ढल निकास, फोहर संकलन व्यवस्थित तरिकाले गर्नुका साथै बोट बिरुवा रोप्ने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
पुरानो व्यवसायिक व्यक्तिहरुमा रहेको ब्यबसायिक सिपलाई नयाँ पुस्तामा हस्तान्तरण अभियान सञ्चालन गर्ने तथा स्थानीय महिलाहरुलाई सिप सिकाउने र आफै केही व्यवसाय सञ्चालन गराउने उद्देश्यले महिला स्वरोजगार अभियान सञ्चालन गराउने स्वतन्त्र उम्मेदवार साहले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका हुन् ।
यस अघि स्वतन्त्र उम्मेदवार बलराम महतो, मनोज साह, तमलोपाका मेयर उम्मेदवार विभा ठाकुर, सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा ३९ जनाले मेयरका लागि उम्मेदवारी दर्ता गराएपनि आधा दर्जन उम्मेदवार मात्र चर्चामा रहेका छन् ।
Discussion about this post